वनस्पति विभागले ३३ जडिबुटीलाई प्राथमिकतामा राखेको छ । तीमध्ये टिमुर पनि एक हो । टिमुर रुटेसी वानस्पतिक परिवारमा पर्ने ३-५ मिटर अग्लो, काँडेदार, सुगन्धित, सानो रुख वा झाडी वर्गको, पतझड वनस्पति हो । यो हिमालय क्षेत्रमा प्राकृतिक अवस्थामा ११ सयदेखि २५ सयमिटरसम्मको उचाइमा पाइन्छ ।
नेपालका साथै हिमालय क्षेत्र (कश्मीरदेखि भुटानसम्म), उत्तरी भारत, चीन, ताइवान, फिलिपिन्समा टिमुर पाइन्छ । नेपालमा सामुन्द्रिक सतहबाट आठ सयदेखि २५ सय मिटरसम्मको उचाइमा टिमुर खेती गरिएको पाइन्छ । नेपालमा स्याङ्जामा सबैभन्दा बढी टिमुरको खेती गरिन्छ । यसबाहेक रुकुम, जाजरकोट, सुर्खेत, दैलेख, रोल्पा, म्याग्दी, गुल्मी, बाग्लुङ, पाल्पा, स्याङ्जा, पर्वतलगायत जिल्लामा यसको खेती धेरै गरिन्छ ।
टिमुरको डाँठ र पातको फेदमा तिखा तथा थेप्चा काँडाहरू हुन्छन् । काँडा भएकै कारण बाँदर आतंक भएका ठाउँमा पनि अन्य बालीको राम्रो विकल्प हुन सक्छ टिमुर । पात पलाउने हरेक आँख्लाबाट फूलको छुट्टै हाँगा निस्किएको हुन्छ । फूलहरू हरिया र केही पहेंला, स-साना हुन्छन् । फल ४-५ मिमि व्यासको, गोलो काँचोमा रातो र पाकेपछि कालो रंगको हुन्छ टिमुर । यसको फूल जेठ-असारमा फुल्छ र फल साउन-भदौतिर लाग्छ र असोज-कार्तिकतिर पाक्छ ।
टिमुरको बहुउपयोगिता
यसको मुख्य रूपमा प्रयोग हुने भाग फल हो । नेपालमा टिमुरको आचार निकै रुचाइन्छ । चीनमा यसलाई हुवा चिआवो भनिन्छ र त्यहाँको लोकप्रिय परिकार थुप्पा, हटपटलगायतमा पनि टिमुर प्रशस्त प्रयोग गरिन्छ । भारतमा ल्वाङको उत्पादन कम भएमा टुथपेस्टमा टिमुरलाई सप्लिमेन्टको रुपमा प्रयोग गर्ने गरेको पाइन्छ । यसमा लिनालुलको मात्रा प्रशस्त भएकाले घाउ चोटपटक, दुखाइ, सुन्निएको बाउँडिने र एलर्जीको उपचारमा प्रभावकारी हुन्छ । यसको फल वायुनाशक, दाँतको दु:खाइ, पेट दुखेकोमा, रुघाखोकी, पिसाबसम्बन्धी समस्यामा पनि उपयोगी हुन्छ । पहाडतिर चिसो सोस्छ भनेर चियामा यसको प्रयोग गरिन्छ । हिमालतिर जाँदा लेक लाग्छ भनेर तातो झोल खान टिमुर बोकेर जाने प्रचलन पनि छ । जंगल वा बारीमा भेटिएको काँचो टिमुर भने खानु हुँदैन । त्यसमा भएको उडेर जाने तेलले गर्दा टिमुर लाग्छ । कतै झुक्किएर खाइयो भने माटो, सुन्तला वा चोत्राका कलिला मुन्टा चपाउनुपर्छ । टिमुर लागेको बेलामा पानी भने खान हुँदैन ।
बिरुवा उत्पादन खेती तथा बिरुवा रोपण
टिमुरको प्रसारण दुई किसिमले गर्न सकिन्छ । बीउबाट र डाँठको कटिङबाट। सजिलो उपाय भनेको बीउबाट नै हो । डाँठमा काँडा हुने हुँदा कटिङ झन्झटिलो हुन्छ र सफलता प्रतिशत पनि धेरै छैन । बीउबाट भने २० देखि ७० प्रतिशतसम्म नतिजा पाइएको छ । कलिलैमा टिपेको बीउ भयो भने वा रोपण विधि मिलेन भने निकै कम मात्रै उम्रिने गर्छ ।
वनस्पति विभागले आफ्नो संगठन बिस्तार गरेर सातवटा जिल्लामा पुर्याएर कार्यालय स्थापना गरी खेती प्रविधिसम्बन्धी प्राविधिक ज्ञान दिन थालेपछि विशेषगरी सल्यान र आसपासका जिल्लामा जंगली अवस्थाबाट संकलन गरेर बेच्ने गरिएको टिमुरको व्यावसायिक खेती सुरु भएको पाइन्छ र हाल सल्यान जिल्लाबाट मात्रै करोडौंको टिमुर तथा कतिपय अवस्थामा प्रशोधित तेल विदेश निकासी हुने गरेको छ । बिरुवा उत्पादन तथा खेती प्रविधि, हावापानी र माटो, संकलन तथा भण्डारण विधिका लागि वनस्पति विभाग थापाथली, वनस्पति विभागका सल्यान (टिमुर विशेष अनुसन्धान हुने भएकाले) लगायत अन्य अनुसन्धान केन्द्र तथा जिल्ला स्थित विभिन्न वन कार्यालयमा पनि सम्पर्क राख्न सकिन्छ ।
उत्पादन बजार र सम्भावना
टिमुरको बजार राम्रो छ । हाल यसको बजार मूल्य प्रति केजीको ५०० देखि ८०० रुपैयाँसम्म पर्छ । ग्रेडिङ गरेको टिमुर एक हजारदेखि १५ सय सय रुपैयाँ प्रतिकेजीसम्ममा बिक्री हुन्छ । अर्गानिक प्रमाणित गर्न सके तीन हजार रुपैयाँभन्दा बढीमा बिक्री भएको समेत रेकर्ड छ । अहिलेकै बजार मूल्यले पनि खेती सुरु गरेको पाँच वर्षपछि प्रतिहेक्टर वर्षमा सरदर ४-५ लाख रुपैयाँसम्म आम्दानी हुन सक्छ । १० वर्षपछि आम्दानी थप हुन सक्छ । पहिलो पाँच वर्ष कमाइ काम हुने भएकाले सँगै नर्सरी राखेर बिरुवाबाट पनि आम्दानी लिन सकिन्छ । लकडाउनको बेला बजार अलि सुस्ताएको थियो तर अहिले फेरि उकालो चढ्दै छ । एउटा परिपक्व बोटमा सरदर चार केजी टिमुर फल्छ । अलि पुराना रुखमा आठ-दश केजीसम्म फलेको पनि पाइन्छ । एक जनाले एक दिनमा बढीमा चार केजीसम्म टिमुर टिप्न सक्छ ।
टिमुर खेतीमा देखिएका समस्या
हाल टिमुरको खेतीमा देखिएको समस्या भनेको काँडाले गर्दा टिमुर टिप्दा लाग्ने चर्को लागत, कलिलैमा फल झर्ने तथा बोटमा लाग्ने लाही किरा तथा पात/फल चुस्ने जातका किराको असर, फल तथा पातमा फुजारियम जातका ढुसी देखिएको छ । दुवै रोगका लागि जैविक विषादी प्रयोग गर्ने र त्यसले नभेटेमा लाही/चुसेर खाने किराको लागि इमिड्याक्लोप्रिड नामको औषधि र ढुसीका लागि क्लोरोथालोनिल भएको औषधिले काम गर्छ । बिनामौसम फेरि फूल खेल्ने र फल लाग्ने समस्या पनि किसानले सुनाएको पाइन्छ । असिना पानीले फल झार्दा निकै क्षति व्यहोर्न परेका वास्तविकता फिल्डको क्रममा देखिन्छ ।
तसर्थ उत्पादनका आधारमा अनुदानका अलावा वनस्पति विभागले तयार गरेको टिमुरको बाली बीमा कार्यक्रमलाई यथासक्य चाँडो व्यवहारमा लागू गर्नु आम किसानको हितमा देखिन्छ । पूर्वदेखि पश्चिम नेपालसम्मै धेरै स्याहार नचाहिने र फालिएका बारी, जंगल छेउका जमिनमा एक हजारदेखि २५ सय मिटरको उचाइसम्म पनि खेती गर्न सकिने भएकाले बाँझो बारी हुनेले टिमुर लगाएमा भविष्यको पेन्सन बन्ने कुरामा दुईमत छैन ।
मित्र पाठक, वनस्पतिविज्ञ